२८ साउन २०८३, बिहिबार
13 August , 2026,Thursday

विमान दुर्घटनाको घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, घटनास्थल पुगेर लिए ब्रिफिङ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विमानस्थल पुगेर सौर्य एअर विमान दुर्घटनाको अवस्था बुझेका छन् ।

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी १८ जनाको मृत्यु भएपछि प्रधानमन्त्री केपी शर्मा ओली दुर्घटना स्थल पुगेका हुन् । उद्धारको काम सकिएर विमानस्थल सञ्चालनमा आएपछि गृहमन्त्री रमेश लेखकसहित प्रधानमन्त्री दुर्घटना स्थल पुगेका थिए ।  सुरक्षा अंगका प्रमुख पनि विमानस्थल पुगेका थिए ।

प्रधानमन्त्री ओलीले सौर्य एयरको विमान दुर्घटना स्थल अवलोकनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणको उद्धार समन्वय केन्द्रमा ब्रिफिङ लिएका हुन् । 


सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे बुझ्न प्रधानमन्त्री ओली विमानस्थल पुगेको उनका प्रेस संयोजक रामशरण बजगाईँले जानकारी दिए ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले घटना ज्यादै दुःखद, हृदय विदारक र अकल्पनीय भएको बताए । उनले निधन भएकाहरूमा हार्दिक श्रद्धाञ्जली र परिवारमा समवेदना व्यक्त गरे । घाइते क्याप्टेनको स्वास्थ्य लाभको कामना गरे ।

यसबारे गर्नुपर्ने थप कामबारे सरकारले आवश्यक निर्णय लिने बताउँदै आगामी दिनमा यस्ता घटना नहोस् भन्नेतर्फ सजग हुन सम्बन्धित निकाय र पक्षलाई निर्देशन दिए । 'घटना  कसरी भयो ? मानवीय वा प्राविधिक कमजोरी भयो ? भन्ने बुझ्न आग्रह गर्नुभयो', प्रधानमन्त्रीलाई उद्धृत गर्दै बगजाईले भने ।

जहाजका क्याप्टेन मनीष शाक्यको काठमाडौँ मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ । शाक्य बोल्न सक्ने अवस्थामा छन् ।


एयरलाइन्सका कर्मचारी लिएर नियमित प्राविधिक परीक्षणका लागि जहाज पोखरातर्फ जाँदै थियो । धावनमार्ग छोडे लगत्तै विमान दुर्घटनामा परेको बताइएको छ । विमानमा दुई जना चालक दलका सदस्यसहित १९ सवार थिए ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले दुर्घटना स्थलमा नागरिक उड्डयन प्राधिकरणका सम्बन्धित अधिकारीलाई पनि बोलाएका थिए । 

बुधबार बिहान करिब ११ बजे काठमाडौँबाट पोखरा उड्दै गरेको सौर्य एयरको विमान चिप्लिएर विमानस्थलमै दुर्घटनाग्रस्त भएको थियो । यस दुर्घटनामा पाइलटको उद्धार गरेर अस्पताल पुर्‍याइएको छ भने अन्य १८ जनाको शव निकालिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्