३० भदौ २०८३, मङ्गलबार
15 September , 2026,Tuesday

मिडियाले समाजमा रहेका गलत कुरालाई बाहिर ल्याउनुपर्छ: पूर्वमन्त्री चौधरी

सुनसरी । पूर्वमन्त्री एवं नेकपा एमालेका केन्द्रीय सदस्य भगबती चौधरीले सञ्चारमाध्यमले समाजमा रहेका गलत कुरालाई बाहिर ल्याउनुपर्ने बताएका छन् ।

सुनसरीस्थित बराह क्षेत्र मिडिया प्रा.ली.को चौथो वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन् । सुनसरी क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद चौधरीले सूचना तथा प्रविधिको कारणले आज विश्व एउटै गाउँ जस्तो बनेको बताउँदै त्यसलाई सही रूपमा प्रयोग गर्न सक्नुपर्ने बताए ।

उनले सूचना प्रविधिको प्रयोग गरेर कतिपय व्यक्तिहरूले अस्वस्थ प्रतिस्पर्धा समेत गर्ने गरेको भन्दै त्यस्ता कुरालाई भने निरुत्साहित गर्नुपर्ने बताए । 'कतिपय मान्छेहरू अस्वस्थ प्रतिस्पर्धामा गइरहेका छन् । जसका कारण राम्रा काम गर्नेहरू ओझेलमा पनि परेका छन्', उनले भने, 'मिडियाले राम्रो कुरालाई उजागर गर्ने र बेथितिलाई बाहिर ल्याएर गलत काम गर्ने व्यक्तिलाई कठघरामा ल्याउने काम गर्नुपर्छ । गलत काम गर्नेलाई सजाय दिलाउन सक्ने सम्मको काम तपाईँहरूको मिडियाले गर्न सक्छ ।'

बेथितिलाई बाहिर ल्याएर राम्रा कुराको प्रोत्साहन गर्नेगरी काम गर्न उनले आग्रह गरे । २०४९/५० मा ६ महिना आफूले पनि रेडियो नेपालमा काम गरेको स्मरण गर्दै उनले मिडियाका विषयमा आफूलाई पनि केही कुरा जानकारी रहेको बताए ।

'यसमा राम्रो कुराहरू पनि छन् । केही चुनौतीहरू पनि छन् । ती चुनौतीलाई पार गर्दै गयौँ भने पक्कै पनि हामी सफल हुनेछौँ', उनले भने ।

अर्को प्रसङ्गमा पूर्वमन्त्री चौधरीले मन्त्रीहरू अस्थायी हुने भएकाले कतिपय कामहरू चाहेर पनि गर्न सक्ने अवस्था नरहने बताए । 'हामी राजनीतिकर्मीहरू सांसद हुन्छौ । कहिलेकाहीँ मन्त्री बन्ने अवसर पनि आउँछ । तर त्यो स्थायी नहुने रहेछ । १/२ महिना मात्रै काम गर्ने पनि हुन्छ', पूर्वमन्त्री चौधरीले भने, 'तर स्थानीय सरकार पाँच वर्षका लागि स्थायी सरकार हो । तर यसमा हामीले काम गर्न सकिन्छ ।'

उनले सबै निकायले पनि सबै मिडिया बाँच्ने हिसाबले सहयोग गर्न आवश्यक रहेको समेत बताए । 'मिडिया हरेक ठाउँमा चाहिन्छ । त्यसकारण हामीले व्यावसायिक रूपमा काम गर्न सकिन्छ । हामीले हाम्रो तर्फबाट पनि पहल गर्न सक्छौँ',  उनले भने, 'तर समय सन्दर्भ अनुसार मिडियाले पनि आफूलाई परिवर्तन ल्याउन आवश्यक छ । मिडिया सर्भाइभ हुनेगरी काम गर्न आवश्यक रहेको पूर्वमन्त्री चौधरीले बताए ।

यसैगरी अर्को प्रसङ्गमा उनले पौराणिक थारु समुदायको सीपलाई व्यवसायीकरण गर्न सकेमा आत्मनिर्भर बन्न सकिने बताए । 'पौराणिक लोप हुँदै गएका चीजहरूलाई ढकी, मोनीलाई पनि हामीले अगाडि बढाउन सक्छौँ । यसले यही केही गर्न सकिन्छ भन्ने सन्देश पनि समाजमा दिन सकिन्छ ।'

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्