एमालेका नेता कार्यकर्ता अराजनीतिक हुन नसक्ने भन्दै एमालेले अन्य शक्तिहरूलाई पनि सुधारको बाटोमा अगाडी बढाउन भूमिका खेल्ने बताए । जनयुद्धका नाममा माओवादीका कार्यकर्ता मात्रै मारिएनन् एमाले सहितका अन्य दलका कार्यकर्ता समेत मारिएको स्मरण गर्दै पोखरेलले हिंसालाई शान्तिमा बदल्न एमालेले नै सबैभन्दा बढी भूमिका खेलेको दाबी गरे ।
महासचिव पोखरेलले आन्तरिक प्रतिस्पर्धाले पार्टी एकता बलियो बनाउनु पर्ने भन्दै आन्तरिक एकता निर्माणलाई सर्वाधिक महत्वमा राख्न आग्रह गर्दै मिसन ८४को तयारीमा लाग्न आग्रह गरे । उनले एमाले जनताको रोजाइको बहुमत प्राप्त पहिलो पार्टी बनाउन मिसन ८४ को अभियान भएको बताए ।
महासचिव पोखरेलले काँग्रेस एमालेको समीकरणका सम्बन्धमा बजारमा चलेका हल्ला निराधार भएको र यो समीकरण जनतामा आशाको सञ्चार जगाउन भएको उल्लेख गर्दै देशमा उत्पन्न अराजकता र अस्थिरताको अन्त्य गर्न बनेको बताए ।
नेकपा एमालेका उप-महासचिव पृथ्वी सुब्बा गुरुङले पार्टी र जनतालाई जोड्ने प्रतिफलमुखी कार्यक्रम अबको आवश्यकता भएको भन्दै देशमा विकासको खाका कोर्दै प्रतिफलमा केन्द्रित भएको बताए ।
नेपाल सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री समेत रहेका उप-महासचिव गुरुङले यो सरकारलाई असफल हुने छुट नभएको भन्दै सरकार सफल हुन पार्टी सहित सबै जन सङ्गठनहरू सक्रिय रूपले परिचालित हुनुपर्ने उल्लेख गरे ।
रचनात्मक तवरले समयानुकूल कार्य सम्पादनमा जुट्न आग्रह गर्दै गुरुङले परिष्कृत शैलीले जनताको काम गर्न आग्रह गरे ।
कार्यक्रममा गण्डकी प्रदेश कमिटी निवर्तमान इन्चार्ज केन्द्रीय कमिटी सचिव गोकर्ण विष्टले अत्यन्त जटिल अवस्थामा नेकपा एमालेले सरकारको नेतृत्व लिएको र यो चुनौतीलाई अवसरमा बदलेर देशमा पूर्ण आशाको सञ्चार गर्नुको विकल्प नभएको उल्लेख गरे ।
परिणामलाई निर्धारित गरेर अगाडी बढ्न सबै पार्टी पङ्क्ति लाग्नु पर्ने भन्दै विष्टले युवा पलायन लगायतका गम्भीर समस्या निराकरण गर्न एमालेको सरकार केन्द्रित भएको जानकारी दिए ।
देशमा विकास र संवृद्धि नै जनचाहाना भएको भन्दै जनचाहाना मुताबिक काम गर्न जनप्रतिनिधि सहित पार्टीका सबै तह र तप्का का कमिटी परिचालित हुन आग्रह गरे । कमिटीहरू अभियान र केन्द्र मुखी मात्रै नभएर रचनात्मक सृजनात्मक तवरले काम गर्नु पर्ने उनको भनाइ थियो ।
प्रदेश कमिटी इन्चार्ज स्थायी कमिटी सदस्य किरण गुरुङले एमालेको कार्यक्षेत्र जनताको चाहना भएको हुँदा जनताका आवश्यकता र सरोकारका विषयमा केन्द्रित हुन् आग्रह गर्दै जनताको सुख दुखको सारथि बन्न आग्रह गरे ।
गण्डकी प्रदेश सभामा एमाले संसदीय दलका नेता स्थायी कमिटी सदस्य खगराज अधिकारीले पार्टी छिट्टै प्रदेश सरकारमा जाने तयारी सुरु भएको जानकारी दिँदै छिट्टै सो पुरा गरेर संवृद्ध प्रदेश सुखी प्रदेश बासीको सपना पुरा गर्न लागि पर्ने उल्लेख गरे ।
अधिकारीले परम्परागत भन्दा परिष्कृत र आधुनिक शैलीको सुसङ्गठित पार्टी निर्माणमा लाग्न आग्रह गरे ।