१० साउन २०८३, आइतबार
26 July , 2026,Sunday

बालेनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सुनिताले भनिन्, जनता आतङ्कित पार्ने सूचना किन जारी भयो ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपमेयर सुनिता डंगोलले मेयर बालेन साहले जनता आतङ्कित पार्नेगरी सूचना जारी गरेको भन्दै आपत्ति जनाएकी छन् । 

बागमती नदी संरक्षणसम्बन्धी मुद्दामा सर्वोच्चको आदेशको पूर्णपाठ लगत्तै महानगरपालिकाले मेयरस्तरीय निर्णयबाट बागमती र विष्णुमतीमा ४० मिटर र टुकुचाको २० मिटर वरपर निर्माण निषेध भएको सूचना जारी गरेको थियो । उक्त सूचनाले जनता आतङ्कित र त्रसित भएको भन्दै मंगलबारको ३५औँ नगर कार्यपालिका बैठकमा डंगोलले ध्यानाकर्षण गराएकी हुन् । 

केही जनता महानगर आउने ठाउँ-ठाउँमा विरोध गर्ने काम भइरहेको भन्दै उनले बुझाउन नसकेको पो हो कि महानगरका हरेक निर्णयमा जनप्रतिनिधिहरूमा अपनत्व हुनुपर्नेमा जोड दिएकी छन् । 'अदालतको आदेशलाई सम्मान गर्नुपर्छ तर, कार्यान्वयन क्रममा कसरी कार्यान्वयन गर्छौँ त्यो महत्त्वपूर्ण छ । प्रमुख ज्यूले सुसूचित गरेका हौँ भन्नुभयो । तर, सुसूचित पनि कसरी गर्ने त्यसलाई कसरी लेखिएको छ भन्ने महत्त्वपूर्ण छ', उनले भनिन, 'एउटा शब्दलाई खेल्ने धेरै ठाउँ पनि हुन्छ । प्रमुखस्तरीय निर्णयअनुसार सूचना प्रकाशित गरिएको छ भनेर लेखिएको छ । महानगरपालिकाको सबै जनाको त्यो निर्णय हो कि होइन भन्ने आउँछ ।'

काठमाडौँको नदी किनारामा अवस्थित प्राचीन बस्ती र सम्पदाहरू समेत जोगाउन भन्दै नेकपा एमाले काठमाडौँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएपछि मेयर बालेन शाहले तत्कालै सोसल मिडियाबाट प्रतिवाद गरेका थिए । सर्वोच्च अदालतले सबै खोलाहरूको हकमा दायाँ-बायाँ न्यूनतम अर्को थप २० मिटर छाडेर मात्र निर्माणको अनुमति प्रदान गर्न भनेको थियो ।

कानूनबमोजिम नक्सा पास गरी पहिले नै भवन आदि संरचना निर्माण गरिएको अवस्थामा नदी किनार क्षेत्रमा सडक, ढल वा प्रशोधन केन्द्र आदि संरचनाहरू निर्माण गर्न र नदी तथा खोलाहरूको सहज प्रवाहका लागि आवश्यक पर्ने जग्गा कानूनबमोजिम क्षतिपूर्ति दिएर सरकारले लिने र संरचना नबनेका खाली जग्गालाई निर्माण निषेधित क्षेत्र घोषणा गर्न एमालेले माग गरेको थियो । 

सो फैसला पुनरावलोकनको माग गर्दै एमालेकै टोलीमा प्रधानमन्त्रीसमक्ष सुनिता पनि डेलिगेसन गएकी थिइन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्