कोशीका पूर्व मुख्यमन्त्री कार्कीले तोडे अनशन, सरकारमा सहभागी हुँदै काँग्रेस
काठमाडौँ । आमरण अनशनमा बसेका कोशीका पूर्व मुख्यमन्त्री केदार कार्कीले अनशन तोडेका छन् ।
नेपाली काँग्रेस कोशी प्रदेश सभापति तथा संसदीय दलका नेता उद्धव थापा, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला लगायतका नेताहरूको पहलमा उनले अनशन तोडेका हुन् ।
थापा र कोइरालासँग पूर्व मुख्यमन्त्रीका मागका विषयमा प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले छलफल गरेका थिए । दिनभरि भएको छलफलमा पूर्व मुख्यमन्त्रीले राखेकोमा मागहरू बजेटले सम्बोधन गरेको मुख्यमन्त्री कार्कीले आश्वस्त पारेका थिए ।
पूर्व मुख्यमन्त्रीका मागहरूका सम्बोधन हुने सम्बोधन नभए काँग्रेस सत्ता साझेदार भएकाले सम्बोधन गर्ने आश्वासन थापाले दिएका थिए । यस्तै प्रदेश सरकारका मन्त्रीहरू राम राना र लिलाबल्लव अधिकारीले समेत माग सम्बोधन भएको र नभएको भए सम्बोधन गरेर जाने बताएपछि कार्कीले अनशन तोडेका हुन् ।
कोशी प्रदेशमा नेपाली काँग्रेस बिहीबारसम्म मन्त्रीमण्डलमा सहभागी हुने भएको छ । बुधवार काँग्रेस कोशी प्रदेशको पदाधिकारी बैठकले सरकारमा मन्त्री पठाउने निर्णय गरेको काँग्रेस कोशी प्रदेश सभापति उद्धव थापाले जानकारी दिए ।
थापाका अनुसार तत्कालका लागि दुई राज्यमन्त्री थप्ने सहमति भएको छ । योसँगै अब एमालेबाट दुई र काँग्रेसबाट २ राज्यमन्त्री हुनेछन् भने मन्त्रीमण्डल ९ क्याबिनेट र ४ राज्यमन्त्रीसहित १३ सदस्यीय हुनेछ ।
सभापति थापाका अनुसार काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री केपी ओलीले फोन गरेर कोशी प्रदेशको समस्याबारे सोधेका थिए ।
यसअघि कोशीमा काँग्रेस सरकारमा सहभागी नभए पनि प्रदेश सभा बैठकमा सत्तापक्षको बेन्चमा बस्दै आएको थियो । १२ साउनमा एमालेसँगको सहमतिपछि काँग्रेसले दुई दिनभित्रै सरकारमा सहभागी हुने बताएको थियो । तर आन्तरिक भागबण्डा मिलाउन नसकेपछि सरकारमा सहभागी भएको छैन ।