दुर्घटनामा निधन भएकी पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष बुढाप्रति श्रद्धाञ्जली अर्पण
काठमाडौँ । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढा मगरको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रिय झन्डा र पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिए ।
उनीसँगै पार्टी उपमहासचिव जनार्दन शर्मा 'प्रभाकर' र वर्षमान पुन 'अनन्त', पूर्व सभामुख एवं पार्टी स्थायी समिति सदस्य ओनसरी घर्ती मगर, स्थायी समिति सदस्य गणेशमान पुन, केन्द्रीय सदस्य दलजित सिर्पालीलगायत ठूलो सङ्ख्यामा उपस्थित नेता, कार्यकर्ता, शुभेच्छुक र आफन्तहरूले श्रद्धाञ्जली दिएका थिए ।
नेकपा माओवादी केन्द्रको तर्फबाट पालिका उपाध्यक्षमा निर्वाचित बुढा मगरको गत भदौ २८ गते बागलुङको गलकोट नगरपालिका २ भुङखानीमा भएको सवारी दुर्घटनामा मृत्यु भएको थियो । उनीसँगै उनकी आमा ६१ वर्सिया गोपीमाया बुढा मगर र सोही गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष जसबहादुर सिर्पालीको पनि निधन भएको थियो ।