१० साउन २०८३, आइतबार
26 July , 2026,Sunday

आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्न छुट्टै मन्त्रालय आवश्यक: पूर्वमन्त्री चौधरी

तस्बिरः सुबास घिमिरे

सुनसरी । पूर्वमन्त्री तथा सुनसरी ३ का प्रतिनिधि सभा सदस्य भगबती चौधरीले आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्नका लागि छुट्टै मन्त्रालय आवश्यक हुने बताएका छन् । 
उराव आदिवासी जनजातिको प्राकृतिक पर्व 'करम पूजा समारोह-२०८१' को सन्दर्भमा गढी गाउँपालिका-६ भवानीपुर हाथमुडा, सुनसरीमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन् । 
राज्यले आदिवासी जनजाति तथा पछाडि परेका वर्गको संरक्षण गर्नुपर्ने भन्दै उनले उनीहरूको संरक्षण र विकासका लागि राज्यले दायित्व निर्वाह गर्नुपर्ने बताए ।
आदिवासी जनजाति समुदायको अधिकार संविधानले पनि सुरक्षित गरेको भन्दै उनले संविधान, कानूनले दिएका अधिकार कार्यान्वयन गराउनका निम्ति लाग्नुपर्ने बताए । शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकता सँगै सांस्कृतिक संरक्षणका लागि पनि राज्यले भूमिका निर्वाह गर्नुपर्ने उनले बताए । 

पूर्वमन्त्री चौधरीले सबैको प्रतिनिधित्व हुनेगरी समुदायको विकासका लागि काम गर्न समेत उराव समुदायका अगुवालाई आग्रह गरे । नेपालमा सूचिकृत ५९ जातजाति रहेको भन्दै उनले राष्ट्रिय तथ्याङ्कले १२५ जातजाति देखाएको बताए । बहुसंस्कृति भएको मुलुक नेपालमा आदिवासी जनजातिको जनसंख्या ३८ प्रतिशत रहेको बताउँदै उनीहरूको संस्कार, संस्कृतिको संरक्षण गर्नुपर्ने बताए ।
'भूमिपुत्रले प्रकृतिको पूजा गर्ने गरेका छन् । उनीहरूको सांस्कृतिक पर्वहरूको पनि संरक्षण गर्दै जानुपर्छ', उनले भने, 'विश्वभरका आदिवासी जनजातिहरूले प्रकृतिको पूजा गर्ने गरेका छन् । अन्नबाली लगाउने बेलामा र भित्र्याउने बेलामा पनि प्रकृतिको पूजा गर्ने गर्छन् । त्यो विश्वभर एउटै रहेछ ।'

अस्ट्रेलिया, बोलिभिया लगायतका देशको भ्रमणमा जाँदा आदिवासी जनजातिको संस्कृतिको अध्ययन/अवलोकन गर्न पाएको स्मरण गर्दै उनले आदिवासी जनजातिहरूको संस्कृति विश्वमै धनी रहेको उल्लेख गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्