१० साउन २०८३, आइतबार
26 July , 2026,Sunday

राजनीतिक दल बलियो हुन सके, लोकतन्त्र बलियो हुन्छ: महासचिव पोखरेल

फाइल फोटो

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्र बलियो हुनका लागि राजनीतिक बलहरू हुनुपर्ने बताएका छन् ।

एमाले केन्द्रीय कार्यालय भवन निर्माणको शिलान्यास कार्यक्रममा शुक्रबार महासचिव पोखरेलले राज्य बलियो बनाउन र जनतालाई अधिकार प्रयोग गर्न सक्ने बनाउन राजनीतिक दलहरू बलियो हुनुपर्ने बताए ।

राजनीतिक दलहरू बलियो हुन सके मात्रै लोकतन्त्र र राज्य बलियो हुने पोखरेलको भनाइ छ । 'लोकतन्त्रमा राजनीतिक दलहरू समाजमा प्रतिनिधि संस्थाका रूपमा रहेका छन्', उनले भने, 'तिनीहरू बलिया हुन सके भने मात्रै लोकतन्त्र बलियो हुन्छ, राज्य बलियो हुन्छ । लोकतन्त्रमा राज्य बलियो भयो भने मात्रै जनताले अधिकारलाई प्रयोग गर्न सक्ने स्थिति बन्दछ ।'

आधुनिक नेपाल निर्माणको लागि एमालेलाई आधुनिक भवनको खाँचो रहेको र त्यसलाई व्यवसायी दम्पती मीनबहादुर गुरुङ र सावित्री गुरुङले पूरा गर्ने अठोट लिएको पोखरेलले बताए । 'हामीलाई आधुनिक नेपालको निर्माणको सन्दर्भमा एउटा आधुनिक कार्यालय भवनको जुन खाँचो थियो । त्यो खाँचोलाई मीनबहादुर गुरुङजी, सावित्री गुरुङजीको तर्फबाट दानका रूपमा उपलब्ध गराउने अठोट गर्नुभएको छ, सङ्कल्प गर्नुभएको छ । त्यसका लागि म पार्टीको तर्फबाट उहाँहरूलाई हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु,' पोखरेलले भने, 'यो ठाउँमा एक वर्षभित्र आधुनिक कार्यालय बनाउने सङ्कल्प लिएका छौँ ।'

एमाले केन्द्रीय कार्यालय भवन निर्माणका लागि भाटभटेनीका सञ्चालक गुरुङले १० रोपनी १४ आना जग्गा दान गरेका छन् । उक्त जग्गामा एमालेले भवन निर्माण गर्न लागेको हो । उक्त भवन अत्याधुनिक र ९ रेक्टरसम्मको भूकम्प थेग्न सक्ने हुने बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्