जग्गा विवादबारे एमालेको जवाफ, खुला दिलले जग्गामा दिएका हुन्, कुनै लेनादेना छैन
फाइल फोटो
काठमाडौँ । सरकारको नेतृत्वकर्ता नेकपा (एमाले)ले पार्टीको केन्द्रीय कार्यालय निर्माणका लागि पार्टीका शुभेच्छुक मीनबहादुर गुरुङ र सावित्री गुरुङबाट प्राप्त भएको जग्गामा कुनै किसिमको लेनादेना नभएको प्रस्ट्याएको छ ।
पार्टी केन्द्रीय कार्यालय बनाउन भन्दै प्राप्त भएको जग्गाको विषयमा गलत प्रचार भएको भन्दै बुधवार विज्ञप्ति सार्वजनिक गर्दै एमाले केन्द्रीय प्रचार तथा प्रकाश विभाग प्रमुख राजेन्द्र गौतमले यस्तो बताएका छन् । जग्गादाताको नाममा विचाराधीन मुद्दालाई अगाडि ल्याएर चर्चा गर्नु आवश्यक नभएको भन्दै विज्ञप्तिमा त्यसको सामना उनले नै गर्ने र कानुनभन्दा माथि कोही नभएको प्रस्ट पारिएको छ ।विज्ञप्तिमा भनिएको छ, 'अन्तरमनबाट पारदर्शी र खुला दिलले उहाँले दान गर्नुभएको जग्गालाई हामीले स्वीकार गरेका हौँ । यसमा कुनै किसिमको पनि सौदाबाजी र लेनादेना छैन । उहाँका नाममा विचाराधीन रहेका मुद्दाको बारेमा उहाँ आफैँले फेस गर्ने हो, संविधान, कानुनभन्दा माथि कोही पनि छैन ।'
गुरुङ दम्पतीले कीर्तिपुर नगरपालिका वडा नम्बर २, मैत्रीनगरस्थित १० रोपनी १४ आना जग्गा निःशुल्क दान गरेका हुन् । जग्गा प्राप्त भए लगत्तै असोज २५ गते औपचारिक रूपमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका शीर्षस्थ नेताको उपस्थितिमा केन्द्रीय कार्यालयको शिलान्याससमेत गरिसकेका छन् ।
दान गरेको जग्गा असोज २४ गते बसेको एमाले सचिवालयको ३८ औँ बैठकले संस्थागत रूपमा स्वीकार गरिसकेको विज्ञप्तिमा प्रस्ट पारिएको छ ।