चार दिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री ओली चीन प्रस्थान (तस्बिर)
तस्बिरः प्रधानमन्त्रीको सचिवालय
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डल चार दिने औपचारिक भ्रमणका लागि छिमेकी मुलुक चीन प्रस्थान गरेको छ ।
समकक्षी चीनका प्रधानमन्त्री ली छ्याङको औपचारिक निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली नेतृत्वको टोली चीन प्रस्थान गरेको हो । प्रधानमन्त्री ओली पछिल्लो कार्यकाल प्रधानमन्त्री हुँदा यो उनको पहिलो औपचारिक चीन भ्रमण हो ।
प्रधानमन्त्री ओली सोमबार बिहान ११ बजे त्रिभुवन विमानस्थलबाट हिमालयन एअरलाइन्सको चार्टर विमानमार्फत चीन प्रस्थान गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
.jpg)
प्रधानमन्त्रीको चीन भ्रमणअघि बसेको मन्त्रीपरिषद् बैठकले चीन भ्रमणको सफलताको शुभकामना व्यक्त गरेको थियो । बैठकले चीनले बनाउने दुई करोड डलर (करिब दुई अर्ब ७० करोड रुपियाँ) बराबरका अनुदानका आयोजना स्वीकार गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
प्रधानमन्त्रीको चीन भ्रमणमा टोखा–खहरे सुरुङमार्ग निर्माण, मुस्ताङको कोरला नाकामा आर्थिक क्षेत्र निर्माण, सङ्खुवासभाको किमाथान्का सडक निर्माण, रसुवागढीमा रेलमार्गको सम्भाव्यता अध्ययन, काठमाडौँको रिङरोडको दोस्रो चरण विस्तार, चितवन क्यान्सर अस्पतालमा बोनम्यारो सेवालगायतका आयोजना अगाडि सारिने उनले जानकारी दिए ।
.jpg)
प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) कार्यान्वयन योजनामा केही संशोधनसहित हस्ताक्षर गर्नेगरी नेपाल तयार भएको छ । चीनले प्रस्ताव गरेको बिआरआई कार्यान्वयन योजना नामको सम्झौताका सवालमा नेपाल सरकारले कार्यदल नै गठन गरेर निर्क्योलमा पुगेको थियो ।
.jpg)