जागरण अभियान चलाउनेबारे माधवले गरे छलफल
फाइल फोटो
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले आगामी माघमा देशभर जागरण अभियान सञ्चालन गर्नेबारे छलफल गरेको छ ।
मंगलबार अभियानका संयोजक समेत रहेका अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा बसेको उपलब्ध पार्टी पदाधिकारी बैठकले माघ महिनामा देशभर जागरण अभियान सञ्चालन गर्ने विषयमा छलफल गरेको हो ।
एकीकृत समाजवादीले आगामी निर्वाचनलाई लक्षित गरी उक्त अभियान चलाउने जनाएको छ । आगामी निर्वाचनमा एक्लै चुनाव लड्ने घोषणा गरेको सो पार्टीले अभियानसँगै सङ्गठन विस्तारलाई जोड दिने बताएको छ ।
मंगलबारको बैठकमा अभियानको तयारी कसरी गर्ने भनेर छलफल भएको हो’, उपमहासचिव रामकुमार भट्टराईले भने, ‘माघमा देशभर जागरण अभियान चलाउने भन्ने छलफल भएको छ । त्यसको कार्यक्रम र रूपरेखाबारे अर्को बैठक बसेर निर्णयमा पुगिन्छ ।'
अभियानका क्रममा जनतामा जाँदा पार्टीले स्वदेशी उद्योग प्रवर्द्धन, महंगी एवं भ्रष्टाचार नियन्त्रण गरी रोजगारी र सुशासनलगायतका विषय अघि सार्ने जनाएको छ ।