संविधान संशोधन ०८७ मा हुन्छ भन्ने ओलीको भनाइमा विश्वप्रकाशले जनाए आपत्ति
काठमाडौँ ,
सत्तारुढ दल नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ०८७ सालमा संविधान संशोधन हुन्छ भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
बुधबार झापाको कचनकवलमा आयोजित पार्टीको कचनकवल-सगरमाथा जागरण अभियानको शुभारम्भ गर्दै उनले ओलीको भनाइप्रति विमति जनाएका हुन् ।
साथै, उनले सात बुँदे समझदारी हुँदै गर्दा संविधान संशोधन अहिलेकै आवश्यकता भएको जिकिर गर्दै सोही जगमा रहेर पुनःमुल्याकंन आवश्यक रहेको जिकिर गरे ।
‘संविधान संशोधन गर्न निश्चय नै राष्ट्रिय सभामा माओवादी पार्टीको सहभागिता भएन भने दुई तिहाइको गणित पुग्दैन,’ शर्माले भने, ‘हामीले संविधान संशोधन गर्नका लागि गणितीय रूपमा पुग्दैन भनेर ब्याक गेयर लगाउने अवस्थामा हामी छैनौँ प्रधानमन्त्रीज्यू ।’
प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पार्टी केन्द्रीय समिति बैठकलाई समापन गर्ने क्रममा संविधान संशोधन ०८७ सालमा मात्रै हुने बताएका थिए ।