प्रधानमन्त्री हुँदा र विपक्षी दलको नेता हुँदाको 'प्रचण्ड'को अभिव्यक्तिमा गम्भीर आशंका छ: शंकर पोखरेल
फाइल फोटो
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले विपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाको बैठकमा असन्तुलित अभिव्यक्ति दिएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा
बिहीबार स्ट्याटस लेख्दै महासचिव पोखरेलले यस्तो टिप्पणी गरेका हुन् ।महासचिव पोखरेलले 'विगतमा आफू प्रधानमन्त्री भएका वेलामा दुरुपयोग भयो भनेर टिकटक नै बन्द गर्ने निर्णय गरेका 'प्रचण्ड'ले टिकटक खोल्न अनुमति दिने सरकारलाई अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको आरोप लगाउनु दिउँसै रात पार्नु जस्तै हो' भनेका छन् ।
सामाजिक सञ्जाल नियमनको आवश्यकता बोध गरेर वर्तमान सरकारले संसद्मा दर्ता गरेको विधेयकका सन्दर्भमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा विपक्षी दलका प्रचण्डले बिहीबारको प्रतिनिधि सभाको बैठकमा दिएको अभिव्यक्ति सुन्दा ६ महिना पहिले प्रधानमन्त्री र अहिले विपक्षी दलको नेता रहेका 'प्रचण्ड' एउटै हुन् कि फरक हुन् भन्ने गम्भीर आशंका उत्पन्न गराएको महासचिव पोखरेलले उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, 'सोसल मिडियाको दुरुपयोग भयो भनेर सोसल मिडिया प्लेटफर्म नै बन्द गर्दा अभिव्यक्ति स्वतन्त्रताको रक्षा हुने अनि त्यसलाई सञ्चालन गर्न दिएर नियमन गर्न खोज्दा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने हुन्छ र ? अवश्य हुँदैन ।'
तर आफ्नै मान्यताका विपरीत ’प्रचण्ड’ले सामाजिक सञ्जाल नियमन सम्बन्धी संसद्मा दर्ता भएको विचाराधीन विधेयकका सन्दर्भमा दिएको असन्तुलित र विरोधाभाषी अभिव्यक्तिको अन्तर्य के होला ? सत्ता गुमाउँदाको छटपटी मात्र कि अरू केही ? भन्ने महासचिव पोखरेलले प्रश्न गरेका छन् ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?