विभाजन गर्ने तत्त्वहरू सलबलाए, पार्टी जोगाउन लाग्नुस्: ओली
नेकपा(एमाले) केन्द्रीय कमिटीको नवौँ बैठक । तस्बिर : दिनेश भण्डारी/प्रधानमन्त्रीको सचिवालय
काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गर्ने तत्त्वहरूबाट पार्टीलाई जोगाउन सिंगो पार्टीपङ्ति एक भएर अघि बढ्न निर्देशन दिएका छन् ।
पार्टी मुख्यालय च्यासलमा सोमबारदेखि सुरु भएको पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेकपा एमालेमाथि पछिल्लो समय बारम्बार प्रहार भइरहेको र पार्टी तोडफोड र विभाजन गर्ने शक्तिहरू लागिपरेको भन्दै यसबाट पार्टीलाई जोगाउन सबै एक भएर लाग्न निर्देशन दिए ।
बैठकपछि अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले त्यस्तो बताए । उनले ७० वर्षे उमेर हद र दुई पटक भन्दा बढी कार्यकारी पदमा बस्न नपाउनेबारे सचिवालय र पोलिटब्युरो बैठकका सम्पूर्ण सदस्यहरू सहमत रहेको बताए ।
.jpg)
बैठकको पहिलो दिन सोमबार पार्टीका उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनमाथि छलफल चलिरहेको छ ।
उक्त प्रतिवेदनहरूमाथि ४९ जना सदस्यले धारणा राखेको गौतमले जानकारी दिए । गण्डकी प्रदेश, मधेश प्रदेश, सम्पर्क मञ्च कार्यक्षेत्र भएका सदस्य, कामको विशेष क्षेत्र भएका सदस्यहरूले आजको बैठकमा धारणा राखेका हुन् ।
बैठकमा बोल्ने अधिकांश सदस्यहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियताबारे धारणा प्रस्तुत गरेका थिए । स्थानीय पार्टी कामलाई व्यवस्थित गर्ने लगायतका विषयमा कुरा राख्ने क्रम रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
बैठक भोलि बिहान ११ बजे पुनः बस्नेछ ।
.jpg)