नेपालको राजनीतिलाई स्थायित्वतर्फ जान नदिन अनेक प्रयास भइरहेका छन्: महासचिव पोखरेल
फाइल तस्बिर
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको राजनीतिलाई स्थायित्वतर्फ जान नदिने अनेक प्रयास भइरहेको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी पंक्तिलाई सावधान गराउँदै पोखरेलले काल्पनिक कथा र अफवाहको भरमा राजनीतिलाई अस्थिर बनाउने प्रयत्न भइरहेकामा गम्भीर चिन्ता व्यक्त गरे ।
हालै अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको आगामी अध्यक्षका रूपमा विद्या भण्डारीको नाम लिएको भनी आएका समाचारप्रति संकेत गर्दै पोखरेलले त्यस्ता विषयलाई अफवाहको संज्ञा दिए ।
अबको एमाले अध्यक्ष विद्या भण्डारी भनेर ओलीले नै भनेका छन् भन्ने जस्ता कथाले राजनीतिक स्थायित्व हुन नसक्ने उनकाे धारणा छ । ‘यस्तै कथाकारहरूले नै नेपाली राजनीतिलाई स्थायित्व तर्फ जानबाट रोक्ने कोशिस गर्दछन्, पार्टी पंक्ति सचेत बन्नु पर्दछ’, उनले लेखेका छन् ।
महासचिव पोखरेलले पार्टी कार्यकर्तालाई यस्ता भ्रमजनक प्रचारप्रति सचेत रहन अपिल गरेकका छन् । राजनीतिक स्थायित्वका लागि तथ्य र विश्वासको आधारमा अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन् ।