ओली-लेखक पक्राउको विषयमा देउवा पक्षले प्रतिवाद गर्ने
फाइल फोटो
काठमाडौँ । नेपाली काँग्रेसको पूर्वउपसभापति पूर्णबहादुर खड्काले पार्टीका नेता रमेश लेखक र एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउबारे छुट्टै विज्ञप्ति जारी गरी धारणा सार्वजनिक गरेका छन्। विशेष महाधिवेशनअघि कार्यवाहक सभापति रहेका खड्काले सोही हैसियतमा विज्ञप्ति जारी गरी शनिबारको राजनीतिक घटनाक्रमबारे धारणा सार्वजनिक गरेका हुन्।
खड्काले दुवै जना नेताहरूको पक्राउलाई संविधान र प्रचलित कानुन विपरीत भन्दै सरकारको उक्त कामको भर्त्सना गरेका छन्। साथै दुवैलाई यथाशीघ्र रिहा गर्न पनि माग गरिएको छ। खड्काले नेताहरूको पक्राउले संवैधानिक र कानुनी प्रश्न उब्जाएको पनि बताएका छन्।
विज्ञप्तिमा भनिएको छ, 'आयोगले अनुसन्धान तहकिकात र अभियोजन गर्न गराउन नेपाल सरकारलाई सिफारिस गरी पठाउने भनिएकोमा कुनै पनि प्रक्रिया पूरा नगरी तत्कालीन सरकारका पदाधिकारीहरूलाई पक्राउ गर्नु कानुनी राज्यको बर्खिलाप छ, राजनीतिक रूपमा पूर्वाग्रह प्रेरित छ।'
खड्काले आयोगको कार्यादेश बमोजिम भाद्र २३ र २४ गते दुवै दिनको घटनाको छानबिन गर्नु पर्नेमा भाद्र २४ गतेको घटनाबाट भएको मानवीय क्षति, सरकारी संरचनाको क्षति, राजनीतिक दलका कार्यालयहरू र व्यापारिक प्रतिष्ठान तथा निजी सम्पत्ति माथि भएको नोक्सानी र संलग्न व्यक्तिहरू बारे बिल्कुल मौन रहनुबाट पनि प्रतिवेदन पक्षपातपूर्ण भएको प्रस्ट हुने बताएका छन्।
'सरकार गठन भए लगत्तै दुराशयपूर्ण तवरबाट भएको यस राजनीतिक प्रतिशोधले सरकार संविधान र लोकतन्त्रको प्रतिबद्धताबाट पछाडि हट्न पुगेको देखिन्छ। यस कार्यको संवैधानिक, कानूनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने नेपाली काँग्रेसको यो बैठक निर्णय गर्दछ। साथै आइपर्ने जुनसुकै परिस्थितिको राजनीतिकरूपमा सामना गर्न देश भरिका पार्टीका साथीहरूलाई तयार रहन हार्दिक अपिल गर्दछ,' पूर्वउपसभापति खड्काले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
हेर्नूहोस् विज्ञप्तिः
