संसद्मा प्रधानमन्त्रीको जवाफ, सरकारले समानुपातिक रूपमा बजेट विनियोजन गरेको छ
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले समानुपातिक रूपमा बजेट विनियोजन गरेको बताएका छन् । बिहीबार प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्रीले निर्वाचन क्षेत्रमा योजना र कार्यक्रम लैजान मन्त्री बन्न नपर्ने बताए ।
एमाले सांसद ठाकुर गैरले सोधेको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । सरकारले आगामी आर्थिक वर्षको बजेट सकेसम्म समानुपातिक ढङ्गले विनियोजन गरिएको उनको दाबी छ । जनताका माग सम्बोधन गर्न विकास आयोजना तथा कार्यक्रमलाई प्राथमिकताका आधारमा विनियोजन गरी बजेट कार्यान्वयन गरिने उनले बताए । प्रधानमन्त्रीले बजेट तथा योजना लैजान मन्त्री नै बन्नुपर्ने नभएको बताए । बजेटलाई आगामी दिनमा थप परिमार्जन गर्न जोड दिइने उनले बताए ।
बजेट निर्माणमा सांसदहरूको सामूहिक छलफल गर्ने भने पनि विभिन्न राजनीतिक घटनाक्रमले बजेटका विषयमा सरकारले चाहेजस्तो गर्न नसकिएको उनले स्वीकार गरे । सरकारले वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्दा व्यवहारिक र प्रतिफल प्राप्त होस् भन्ने उद्देश्यले संघ प्रदेश र स्थानीय तहमा आयोजनाहरूबिच दोहोरोपन हुन नदिने, ठूला आयोजना संघबाट कार्यान्वयन गर्ने,मझौला प्रकृतिका आयोजना प्रदेशबाट र साना आयोजना स्थानीय सरकारबाट गर्ने पक्षमा अहिले पनि स्पष्ट र दृढ रहेको उनले बताए ।
'सरकारले वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्दा व्यवहारिक र प्रतिफल प्राप्त होस् भन्ने उद्देश्यले संघ प्रदेश र स्थानीय तहमा आयोजनाहरू बिच दोहोरोपन हुन नदिने, ठूला आयोजना संघबाट कार्यान्वयन गर्ने ,मझौला प्रकृतिका आयोजना प्रदेशबाट र साना आयोजना स्थानीय सरकारबाट गर्ने पक्षमा अहिले पनि स्पष्ट र दृढ रहेको भन्न चाहन्छु', उनले भने, 'वित्तीय हस्तान्तरण अन्तरगत ससर्त अनुदान तर्फका आयोजनाहरू सम्पन्न गर्नको लागि केही आयोजना तथा कार्यक्रमहरूमा कम रकम देखिए पनि ३ करोड रकम भन्दा कम विनियोजन भएका आयोजनाहरूलाई प्रदेश तथा स्थानीय तहबाट कार्यान्वयन गर्ने गराउने जानकारी गराउन चाहन्छु । सरकारले बजेट तर्जमा गर्दा प्रचलित कानून,बजेट तर्जुमा दिग्दर्शन तथा स्वीकृत प्रणाली अनुरूप अर्थ मन्त्रालय र विषगत मन्त्रालयहरूबाट हुने गर्दछ ।'
जनताका माग सम्बोधन गर्न विकास आयोजना तथा कार्यक्रमलाई प्राथमिकताका आधारमा विनियोजन गरी कार्यान्वयन गरिने बताउँदै प्रधानमन्त्री प्रचण्डले बजेट तथा योजना लैजान मन्त्री नै बन्नुपर्ने नभएको बताए । प्रधानमन्त्रीले भने, 'सकेसम्म समानुपातिक ढङ्गले बजेट विनियोजन गरिएको छ । आगामी दिनमा परिमार्जन गर्न जोड दिइनेछ । बजेट निर्माणमा सबै माननीय ज्यूहरूको सामूहिक छलफल गर्ने भनेको थिए । विभिन्न राजनीतिक घटनाक्रमले बजेटका विषयमा सरकारले चाहेजस्तो गर्न नसकिएको कुरा सत्य हो । फेरी पनि त्यही रूपमा लैजाने कोसिस गरिन्छ ।'