स्कुल बस दुर्घटनामा आमा-छोराको मृत्यु, २८ जना घाइते
पोखरा । पोखरामा सोमबार बिहान भएको स्कुल बस दुर्घटनामा आमा-छोराकै मृत्यु भएको छ ।
दुर्घटनामा एलपी देवकोटा मेमोरियल स्कुलकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका ६ वर्षीय छोरा प्रिन्स विकको मृत्यु भएको हो । आरती छोरालाई पनि साथै लिएर अन्य विद्यार्थी हेरचाहका लागि बस चढेकी थिइन् ।
दुर्घटनास्थलबाट उद्धार गरी उपचारका लागि गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएकामा डाक्टरले आमालाई बिहान ९:४१ बजे र त्यसको १ घण्टापछि छोरालाई पनि बिहान १०ः४५ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
विद्यार्थी बोकेको ग १ क ६२१९ नम्बरको बस पोखरा २१ को गुड्कु भन्ने भित्री सडकबाट बिहान पौने ९ बजेतिर ५० मिटर तल खसेको कास्की प्रहरीका प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।
सो बसमा चालकसमेत ३० जना थिए । बाँकी सबै घाइते भएका छन् । उनीहरूको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।