गुल्मीमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु
गुल्मी । पहिरोले घर पुरिँदा गुल्मीमा चार जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका १ बिसौनाका विष्णु बिक र हुकुम विकको घरमाथिबाट खसेको लेदोसहितको पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा अन्दाजी ४६ वर्षीय गोरे बिक, ६७ वर्षीय हुकुम बिक, ६६ वर्षीय मसुरी बिक र साढे दुई वर्षीय रियन्सी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले जानकारी दिए ।
पहिरोले पुरिँदा दुई जना घाइते भएका छन् । घाइते हुनेहरूमा ३१ वर्षीय विष्णु र २३ वर्षीय मुना बिक रहेका छन् । उनीहरूको शरीरका विभिन्न स्थानहरूमा चोट लागेको प्रहरी निरीक्षक केसीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?