अवरुद्ध सडक खुलेपछि १७ सय सवारीसाधन भित्रिए काठमाडौँ
काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि राजमार्गमा अलपत्र परेका एक हजार सात सय ७ सवारीसाधन काठमाडौँ उपत्यका भित्रिएका छन् ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले आइतबार साँझदेखि झ्याप्लेमा अवरुद्ध सडक खुलेयता अलपत्र यात्रुहरूसहित लिएर सयौँ सवारीसाधन काठमाडौँ भित्रिएको जानकारी दिए ।
त्यसैगरी सोमबार दिउँसोपछि काठमाडौँबाट पनि सो राजमार्ग भएर सवारीसाधन पठाउने तयारीमा प्रहरी खटिएको प्रवक्ता तिवारीले जानकारी दिए । 'आजबाट उपत्यकाबाट पनि पृथ्वी राजमार्ग हुँदै सवारी साधन बाहिरिने छन्', उनले भने– 'मुख्य राजमार्गका साथै अन्य अवरुद्ध सडक सञ्चालनका लागि गृह मन्त्रालयले अन्य निकायसित समन्वय गरेर अघि बढेको छ ।'
त्यसैगरी सोमबार दिउँसो गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक समेत गृहमन्त्री रमेश लेखकले डाकेका थिए । बैठकमा सुरक्षा निकायका प्रमुखहरूले बाढी, पहिरो, डुबान तथा विपद्मा भइरहेको उद्धार, राहत, घाइतेको उपचार र अवरुद्ध सडक खुलाउने विषयमा भइरहेको जानकारी गराएका छन् ।
प्रवक्ता तिवारीले मौसम पूर्ण रूपमा सामान्य बनीसकेको अवस्था नरहेकाले यात्रा गर्दा सावधानी अपनाउनुपर्नेमा जोड दिए । 'बिस्तारै सडक खुल्ने र खुलाउने क्रममा छ । अझै पहिरो लगायत जोखिम टरिसकेको छैन', उनले भने ।
अवरुद्ध सडक सुचारु गर्न सरोकारवाल निकायका साथै मुलुकका विभिन्न स्थानमा सुरक्षाकर्मीको टोली समेत परिचालन भएको छ ।
'रोशी लगायत प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै राहत वितरण पनि हुँदै छ', प्रवक्ता तिवारीले भने– 'घाइतेहरूको उद्धार गरी विभिन्न अस्पतालमा निःशुल्क उपचार भइरहेको छ ।'
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?