कैलाली कारागार झडपमा परी घाइते एकलाई काठमाडौँ पठाइयो
धनगढी । कैलाली कारागारमा शुक्रबार राति भएको झडपका क्रममा घाइते भएका एक जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।
उक्त झडपका क्रममा गम्भीर घाइते भएका गोदावरी नगरपालिका–२ का आयुश भट्टलाई नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं पठाइएको हो । शुक्रबार राति एक जनाको मृत्यु हुनेगरी कारागारमा झडप भएको थियो । सो झडपको क्रममा ४७ जना घाइते भएका थिए ।
शनिबार दिउँसो पनि कारागारको अवस्था असामान्य बनेको थियो । कारागारभित्र रहेका कैदीहरूले केहीबेर कारागार नै नियन्त्रणमा लिएका थिए भने अवस्था सामान्य बनाउन प्रहरीले हम्मे हम्मे भएको थियो ।
यसैबीच सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति पनि गठन भएको छ । उक्त समितिले घटनाको कारण पत्ता लगाएर १० दिनभित्र प्रतिवेदन दिनुपर्ने कार्यादेश राखिएको छ ।
शुक्रबार राति कारागारमा झडप हुँदा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका थिए । घाइतेहरूको उपचार भइरहेको छ ।
यसबारे सुरक्षा निकायका प्रमुखसँग गृहमन्त्री रमेश लेखकले पनि सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन् ।