सगरमाथा आरोहणलाई व्यवस्थित बनाउन आरोही संघको माग
सगरमाथा आरोहण क्रममा आरोही। तस्वीर : लिडिया ब्राडी
काठमाडौँ । सगरमाथा आरोही संघले सगरमाथा आधार शिविरभन्दा माथि हुने हेलिकप्टर उडानको प्रभावकारी अनुगमन गर्न माग गरेको छ । संघले आज विज्ञप्ति जारी गर्दै सगरमाथा क्षेत्रमा हेलिकप्टर कसरी र किन उडे भन्ने विषयमा नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुगमन बढाउनुपर्ने खाँचो औँल्याएको हो ।
साथै संघले सगरमाथालगायत हिमाली क्षेत्रलाई संरक्षण गर्न कडा कानुनी व्यवस्था गर्न पनि सरकार समक्ष माग गरेको छ । हिमाल आरोहणलाई व्यवस्थित गर्न तथा आगामी दिनमा आठ हजार मिटरको हिमाल आरोहण गरेकालाई मात्र सगरमाथा आरोहणको अनुमति दिन संघले सुझाएको छ ।
सगरमाथा क्षेत्रबाट समाचार सम्प्रेषणमा एकद्वार प्रणाली कायम नहुँदा सगरमाथाबारे गलत प्रचार प्रसारको जोखिम बढिरहेकोमा पनि सञ्चारमाध्यमहरूलाई ध्यानाकर्षण गराएको छ । सगरमाथा आधार शिविरमा पर्यटन विभाग, खुम्बु पासाङल्हामु गाउँपालिका, सुरक्षाकर्मीसहितको कमान्ड र सरोकारवाला सङ्घ–संस्था संलग्न अनुगमन टोली बनाएको खण्डमा सगरमाथा आधार शिविर र सो भन्दा माथिको कार्य प्रभावकारी हुने सङ्घले विज्ञप्तिमा जनाएको छ ।
सङ्घको एक प्रतिनिधिमण्डलले हालै गरेको अध्ययन अनुसन्धानबाट सगरमाथाको दोस्रो शिविरमा प्रति आरोही न्यूनतम आठ केजी र सो भन्दा माथि थप आठ केजी फोहर जम्मा हुने देखिएको थियो । ती फोहोर आरोहणमा संलग्न व्यक्तिहरूले आधार शिविरमा ल्याए नल्याएको अनुगमन गनुपर्नेमा सङ्घले जोड दिएको छ ।
झुटो उद्धारलाई निरुत्साहित गर्न उद्धारमा प्रयोग भएका हेलिकप्टरको आवश्यक बिल तथा भरपाई नेपाल सरकार तथा सरोकार भएका निकायले निरीक्षण गर्ने व्यवस्था मिलाउन पनि माग गरिएको छ । यस वर्ष सङ्घका प्रथम उपाध्यक्ष दिवस घिमिरे र महासचिव शिवबहादुर सापकोटासहितको टोलीले सगरमाथा आधार शिविरमा आरोहणमा हुने विविध विषयबारे अध्ययन तथा अनुसन्धान गरेको थियो ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?