२० जेठ २०८३, बुधबार
3 June , 2026,Wednesday

तीन हिमाल आरोहणका लागि १३१ जनाले लिए अनुमति

काठमाडौँ । यस वर्षको शरद ऋतुमा मनास्लु हिमाललगायत विभिन्न हिमाल आरोहणका लागि आरोहीले धमाधम अनुमति लिन थालेका छन् । 

यस सिजनका लागि हालसम्म १२ आरोही समूहका ३४ महिला र ३८ पुरुष गरी १३२ जनाले आरोहण अनुमति लिइसकेको पर्यटन विभागले जानकारी दिएको छ । विभागको पर्वतारोहण शाखाको तथ्याङ्क अनुसार सबैभन्दा धेरै मनास्लु हिमाल आरोहणमा ३२ महिला र ८८ पुरुष गरी १० आरोही समूहका १२० जनाले अनुमति लिएका छन् । तीन हिमाल आरोहणका लागि नेपालसहित ३१ देशका आरोहीले अनुमति लिएका छन् ।

किलर माउन्टेनका रूपमा परिचित ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल पछिल्लो समय आरोहीको सर्वाधिक रोजाइमा पर्न थालेको छ । यसपटक पनि सबैभन्दा बढी मनास्लु हिमाल आरोहणका लागि अनुमति लिइएको छ । शरद ऋतु मनास्लु हिमाल आरोहणका लागि उपयुक्त मौसम भएकाले पनि प्रत्येक वर्ष यही समयमा आरोहण गर्न उल्लेख्य सङ्ख्यामा आरोही आउने गरेका छन् ।

मनास्लु हिमाल विश्वको आठौँ र नेपालको सातौँ अग्लो हिमाल हो । सन् १९५६ मे ९ तारिखमा जापानी नागरिक तोसियो इमनिसी र नेपाली ग्याल्जेन नोर्बु शेर्पाले मनास्लुको सफल आरोहण गरेका थिए । त्यसको दुई दिनपछि अर्थात् मे ११ मा जापानिज नोर्बु हिगेता र किचिरो कातोले मनास्लु आरोहण गरेको रेकर्ड छ । 

सन् १९५६ मे १८ मा स्वीस नागरिक आन्स रेज र रिट्ज लुचिसिङ्गरले मनास्लु आरोहण गरेका थिए । यस्तै, पुथा हिउँचुली आरोहणका लागि एक आरोही समूहका सात र अन्नपूर्ण चौथोका लागि  एक आरोही समूहका पाँच जनाले अनुमति लिएको विभागले उल्लेख गरेको छ ।

यस सिजनका लागि हिमाल आरोहणबापत एक करोड ३० लाख ९६ हजार २६४ रोयल्टी सरकारी खातामा जम्मा भएको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्