अङ्ग्रेजी नयाँ वर्षमा पनि आएनन् सौराहामा पर्यटक
फाइल फोटो
चितवन । अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो दिन बिहानदेखि होटलका गेटमा कोठा खाली नभएका सूचना देख्न सकिन्थे । मध्याह्नसम्ममा अधिकांश होटल भरिसकेका हुन्थे । साँझ कोठा खोज्नेले पाउनै नसकेर फर्किनुपथ्र्यो । सौराहाका कुनाकुनासम्मका होटल भरिभराउ हुने गर्दथे ।
यस वर्ष अवस्था फरक देखियो । सौराहामा पर्यटकको आगमन भए पनि विगतको जस्तो खचाखच हुन सकेन । नयाँ वर्षको दुई दिन पहिलेदेखि दुईदिन पछिसम्म होटलमा पर्यटकको राम्रो उपस्थिति हुने गर्दथ्यो ।
विगत १४ वर्षदेखि प्रत्यक्षरूपमा पर्यटन व्यवसाय लागेका क्षेत्रीय होटल सङ्घका पूर्वअध्यक्ष सुमन घिमिरे आफूले पेसा अँगालेपछिको नयाँ वर्षमा सबैभन्दा कम पर्यटक यस वर्ष आएको बताउँछन् । व्यवसायीको भनाइमा यो वर्ष ८० प्रतिशतभन्दा बढी कोठा भरिएका थिएनन् । घिमिरेको भनाइमा सडक सञ्जालका कारण पर्यटकको आगमनमा कमी भएको हो ।
काठमाडौँबाट आउने पर्यटक दिनको समयमा राजमार्ग बन्द हुने भएकाले रोकिए । यस्तै पोखरा र बुटवलतर्फबाट आउनेहरू बाटो सहज नहुँदा आउन अनिच्छुक देखिए । घिमिरे भन्छन्, “सडकसँगै आर्थिक मन्दी र यहाँ नयाँ कार्यक्रम नहुँदा पर्यटकको कमी भएको हुनुपर्छ ।”
केही दिन अगाडिसम्म हात्ती महोत्सव भए पनि नयाँ वर्षका दिन खासै ठूलो कार्यक्रम हुन सकेन । सौराहा क्षेत्रमा साँझमा घुमेर फर्किने आन्तरिक पर्यटकको सङ्ख्या राम्रै देखिए पनि होटलमा बस्नेहरूमा कमी आएको उनको भनाइ छ ।
होटल जङ्गल क्राउनका महाप्रबन्धक सन्तोष गिरी बालबालिकाको परीक्षाको कारण पनि पारिवारिक घुमघाम कम भएको अनुमान गर्नुहुन्छ । कार्यक्रम राखिएका होटलमा पर्यटक भरिए पनि धेरै होटलले पाहुना कम भएको गुनासो गरेको उनले बताए । विगतका वर्षहरूको तुलनामा यस वर्ष पर्यटकमा कमी आएको उनको भनाइ छ ।