३१ वैशाख २०८३, बिहिबार
14 May , 2026,Thursday

विवाहको उमेर २० वर्ष नै कायम गर्न सरोकारवालाको जोड

ललितपुर। २० वर्षपछि विवाह गर्ने विद्यमान कानुनी व्यवस्था यथावत् राख्न बाल अधिकारकर्मीले जोड दिएका छन्। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले ललितपुरमा आयोजना गरेको 'बिहेबारी २० वर्ष पारी अभियान'मा सञ्चारकर्मीको भूमिका विषयक छलफल कार्यक्रमका वक्ताहरूले विवाहको उमेर २० वर्ष नै कायम राख्न माग गर्दै यसमा परिवर्तन नगर्न आग्रह गरे।

कतिपय पक्षले विवाह गर्ने उमेरलाई घटाएर १८ वर्षमा ल्याउन दबाब लिएपनि त्यस्तो प्रस्ताव अघि बढ्न नहुने उनीहरूको जोड थियो। केन्द्रीय बाल कल्याण समितिका पूर्वकार्यकारी निर्देशक तारक धितालले विवाह गर्ने विद्यमान उमेर घटाउँदा महिलाको शैक्षिक, मानसिक, आर्थिक र सामाजिकका साथै प्रजनन स्वास्थ्यमा प्रतिकूल असर पर्ने विभिन्न अध्ययनले देखाएको बताए। 

चीन, दक्षिण कोरिया, भारतलगायतका मुलुकमा पनि २० वर्षपछि नै विवाहको कानुनी प्रावधान रहेको भन्दै उनले नेपाल सरकारले ल्याएको बालविवाह अन्त्यसम्बन्धी रणनीति, २०७२ को प्रभावकारी कार्यान्वयनका लागि सबै तहका सरकार, निजी क्षेत्र र सञ्चारकर्मीले भूमिका निर्वाह गर्नुपर्ने बताए। 

२० वर्ष नपुग्दै भएको विवाहका कारण दक्ष जनशक्तिमा कमी आएको, सम्बन्ध विच्छेदका घटना बढी देखिएको, परिवार विखण्डन, बालबालिकाको बिचल्ली, आत्महत्या सम्मका घटना बढी देखिएको अधिकारकर्मी धितालले बताए। २०८२ सालमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले दुर्गम क्षेत्रका सुत्केरी महिलाहरूको उद्धारको घटनामा पनि २० वर्षमुनिका महिलाहरूको सङ्ख्या बढी देखिएको उनले बताए। 

नेपालको संविधानको धारा ३९ ले बालबालिकालाई बालविवाह गर्न बाध्य पार्न नहुने व्यवस्था रहेको छ भने मुलुकी अपराध संहिता, २०७४ को दफा १७३ मा २० वर्ष नपुगी गरिने विवाहलाई दण्डनीय मानेको छ।

त्यस अवसरमा सिजपका अध्यक्ष तिलोत्तम पौडेलले कम उमेरमा विवाह गर्दैमा बालविवाह घट्छ भन्ने तर्क सही नभएको बताउँदै कम उमेरमा विवाह गरेर सन्तान जन्मिएमा जन्ममृत्युदर बढ्ने खतरा रहने बताए। उनले केटा र केटीको मन्जुरीमा विवाह भएमा २० वर्ष मुनिको विवाहलाई पनि मान्यता दिनुपर्छ भन्ने बुझाइ पनि सही नभएको बताए। 

यसैगरी सिजपका महासचिव राजु घिमिरेले २० वर्ष नपुग्दै गरिने विवाहले समग्रमा महिलाको मात्र नभएर समग्र समाजकै विकासको गतिमा असर पुर्‍याउने बताए। 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्