२२ जेठ २०८३, शुक्रबार
5 June , 2026,Friday

काठमाडौँमा ४० हजार विद्यार्थी होस्टेलमा, समितिले मापदण्ड पालनाको अनुगमन गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको अनुगमन समितिले होस्टेल सञ्चालकहरूलाई स्वच्छ, सफा, सुरक्षित र सामाजिक मर्यादाको पूर्ण परिपालना गरेर होस्टेल सञ्चालन गर्न अनुरोध गरेको छ । सोमबार समितिका संयोजक एवं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले, छात्रावासमा अवाञ्छित क्रियाकलाप हुने गरेको भन्ने गुनासो संवेदनशील रहेको विषयमा छलफल गर्दै मापदण्ड पालनामा प्रतिबद्ध हुन आग्रह गरेको हो ।

त्यस क्रममा उपप्रमुख डंगोलले भने, 'होस्टेलको अवस्था, सेवा सम्बन्धी व्यवस्थासँगै होस्टेलमा बस्ने छात्रछात्रा तथा अन्य को होस्टेलमा बसेको हो, व्यवस्थित सूचना अभिलेखनबाट व्यवस्थापनको काम थालनी हुनेछ । समूह विभाजन गरेर अनुगमन गर्न सकिन्छ ।' उनले होस्टेल संघको तथ्याङ्क उद्धृत गर्दै भने, 'उहाँहरू ४० हजार विद्यार्थी होस्टेलमा बसेको भनिरहनु भएको छ । यत्रो ठुलो सङ्ख्यामा मानिस बसोबास गर्ने ठाउँको अवस्था र वितरण हुने सुविधाको निगरानी अनिवार्य भएको छ ।'

४ जना बस्न मिल्ने कोठामा २० औँ जनालाई राखिएको छ । आवासीय भवनलाई व्यावसायिक बनाइएको छ । यसले जोखिम सिर्जना गरेको छ । छलफलमा वडा नं. १० का सदस्य शति तण्डुकारले भने, 'रातको १० बजेपछि पनि होस्टलमा आवागमन भइरहन्छ । त्यसपछि को आउँछ, को जान्छ? किन आउँछ, किन जान्छ? थाहा हुँदैन ।' 

छलफलमा वडा नं. २९ का सदस्य अनिल श्रेष्ठले भने, 'होस्टेल विक्री गर्ने रोग थियो, यो महारोग भइसक्यो । घर लिने, निःशुल्क विद्यार्थी भर्ना गर्ने, त्यही संख्या देखाएर महँगोमा विक्री गर्ने भएपछि विकृति भयो ।'

शिक्षा अधिकारी गोविन्दप्रसाद शर्मा, विद्यार्थीहरूको हित जान्नका लागि भए पनि अनुगमन गर्नुपर्ने अवस्था आएको बताउँछन् । 

यस्तै राजस्व विभागका प्रमुख ध्रुवकुमार काफ्लेले छलफलमा नेपाल होस्टल एसोसिएसन र होस्टल व्यावसायी संघ नेपालका पदाधिकारीले, बहाल कर आफैँले तिर्नु पर्ने, घरको मर्मत सम्भार आफैँले गर्नु पर्ने, पानी आफैँले जोहो गर्नु पर्ने भएकोले आफूहरू व्यावसायिक संकटमा रहेको धारणा राखे । 


यति भएर पनि मापदण्डको पूर्ण पालना गरेर चलेका होस्टेल पनि रहेको र राम्रालाई प्रोत्साहन तथा नराम्रालाई सुधार गराउने बाटोमा हिँड्नुपर्ने उनीहरूको आग्रह थियो ।  

यस्तो छ काठमाडौँ महानगरपालिकाले जारी गरेको छात्रावास सञ्चालन सम्बन्धी मापदण्ड - २०८०

छात्रावास (होस्टेल) लाई व्यवस्थित, मर्यादित, सुरक्षित र पारदर्शी बनाउन तथा छात्रावासमा बस्ने विद्यार्थीहरू र सञ्चालकको अधिकतम हित गराउन छात्रावास सञ्चालन सम्बन्धी मापदण्ड २०८० जारी गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (२) को खण्ड (ज) र दफा १०२ को (२) लाई आधार मानेर काठमाडौँ महानगरपालिका प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन २०७५ ले दिएको अधिकार प्रयोग गरेर मापदण्ड जारी गरिएको हो ।

मापदण्डबमोजिम महानगरपालिकाभित्र छात्रावास (होस्टेल) सञ्चालन गर्न कार्य योजना, प्रतिविद्धतासहितको निवेदन, वडाको सिफारिस, छात्रावास राख्ने भवनको नक्सा र नक्सा पास प्रमाण पत्र, निर्माण सम्पन्न प्रमाण पत्रसहित कागजातसहित दर्ता प्रक्रियाका जानुपर्छ । आफ्नै घरमा आफैँले सञ्चालन गरेको जग्गाको लालपुर्जा र भाडामा भवन लिएको भए सम्झौताको प्रतिलिपि बुझाउनुपर्छ । स्थलगत अनुगमन तथा वस्तुस्थितिको जाँचपछि महानगरपालिकाको शिक्षा विभागले सञ्चालन अनुमति दिनेछ ।

छात्रावासभित्र न्यूनतम सबै पूर्वाधार हुनुपर्छ । यसमा शौचालय, भान्छा घर, पानीको आपूर्ति, विद्युत्, प्रत्येक छात्रछात्राका लागि पलङ, दराज र टेबल फोहोर मैला व्यवस्थापन तथा सरसफाइको प्रबन्ध हुनुपर्छ । कोठाहरू फराकिला, खुल्ला हुनुपर्छ । कोठामा पर्याप्त प्रकाश हुनुपर्छ । हावा दोहोरो आउने जाने हुनुपर्छ ।  

आगलागी जस्ता सम्भावित विपद् व्यवस्थापनका लागि फायर इस्टीङ्ग्वीसर लगायत सामग्री तथा उपकरण, प्राथमिक उपचारको लागि सामग्री हुनुपर्छ । कोठा र शौचालयबाहेक अन्य स्थानको निगरानीका लागि सिसिटिभी क्यामरा जडान गर्नुपर्छ । हुलदङ्गा हुने, प्रदूषण हुने ठाउँमा छात्रावास राख्न हुँदैन । छात्र र छात्राका लागि सञ्चालन गरिने भवन आमनेसामने हुनुहुँदैन । एकबाट अर्कोको दुरी कम्तीमा २ सय मिटर हुनुपर्नेछ । एकै सञ्चालकले दुवै छात्रावास चलाउने भए आन्तरिक व्यवस्थापनको काम समेत छुट्टै भवनबाट सञ्चालन गर्नुपर्छ ।

सेवा सुविधा, जिम्मेवारी तथा कर्तव्य, अनुशासन, गोपनीयता, आचारसंहिता सम्बन्धी आन्तरिक नियम बनाउन सक्नेछन् । यस्ता नियम महानगरपालिकामा पेश गरेर सहमति लिनुपर्नेछ ।

महानगरपालिकाले तोकेको आकारमा स्पष्ट देखिने गरी परिचय पाटी राख्नुपर्छ । बस्ने छात्रछात्राको हालसालै खिचेको तस्बिर, पहिचान देखिने सरकारी कागज राख्नुपर्छ । असम्बन्धित व्यक्ति भित्र आउन दिनु हुँदैन । शैक्षिक वातावरण मिलाउनुपर्छ । कोठाभित्र मदिराजन्य, लागू पदार्थ, सुर्तीजन्य पदार्थ ओसारपसार, विक्री वितरण र प्रयोग गर्न पाइँदैन । सञ्चालकबाट अभिभावकीय भूमिका निर्वाह गर्नु पर्ने भएकोले उमेर ३० वर्ष पूरा भएको हुनुपर्नेछ ।

मापदण्डमा छात्रावाससँग सम्बद्ध व्यक्तिको काम, कर्तव्य र अधिकार, वार्डेनको काम कर्तव्य अधिकार, छात्रछात्राको काम कर्तव्य र अधिकार, अनुगमनलगायत व्यवस्था छन् । शुल्क, दण्ड सजाय, विवाद समाधानसहित विषयलाई ५ वटा परिच्छेदमा व्यवस्था गरिएको छ ।

त्यस्तै छात्रावास सम्बन्धी प्रस्ताव, प्रतिबद्धता पत्रलाई अनुसूचीमा ढाँचा दिइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्