समाजको कल्याण कसरी गर्ने भन्ने कुरामा ध्यान दिएर काम गरौँ : मन्त्री सुडी
ललितपुर ।
समाज कल्याण परिषद्को ४५ औँ स्थापना दिवस तथा सामाजिक सेवा दिवस
विविध कार्यक्रमकाबीच मनाइएको छ ।
परिषद्को स्थापना दिवस तथा सामाजिक सेवा दिवसको सन्दर्भमा शनिबार परिषद्अन्तर्गत रहेको भृकुटीमण्डप परिसरको सरसफाइ गरिएको थियो । परिषद्का कर्मचारीहरूले शनिबार भृकुटीमण्डप परिसरको सरसफाइ गरेका हुन् ।
यसैबीच आइतबार ललितपुरमा एक विशेष समारोहको आयोजना गरी परिषद्को ४५औँ स्थापना दिवस तथा सामाजिक सेवा दिवस 'सुशासन र समृद्ध नेपाल राष्ट्रिय सोचाइ, दिगो सामाजिक विकास संघसंस्थाको रोजाइ' भन्ने मूल नाराका साथ मनाइएको हो ।
त्यस अवसरमा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले समाजमा पछाडि परेका समुदायहरूको कल्याण गर्नु हामी सबैको कर्तव्य भएको बताए । मन्त्री सुडीले समाज कल्याण ऐनलाई समयसापेक्ष परिमार्जन र संशोधन गर्ने बताए ।
समाज कल्याणको ऐन परिमार्जन गर्दै एकद्वार नीतिअनुसार अगाडि बढाउन सरकार लाग्ने बताउदै उनले भने, 'नेपाल सरकारले परिषद्लाई थप जिम्मेवार बनाउन समाज कल्याण परिषद्को संरचना, अधिकारको बाँडफाँड सहित संघ, प्रदेश र स्थानीय तहसम्म विस्तार गर्नेगरी समाज कल्याण ऐनलाई समसामयिक संशोधन र परिमार्जन गर्दै एकद्वार नीतिअनुसार समाज कल्याण परिषद्बाट संघसंस्थाहरूको नियमन सहजीकरण प्रभावकारी अनुगमन हुनेगरी कार्य सञ्चालन र व्यवस्थापन हुने विश्वास लिएको छु ।'
.jpg)
समाज कल्याण परिषद् नामबाट नै समाजको कल्याण गर्ने संस्था हो भनेर बुझ्न सकिने भन्दै उनले परिषद्को नेतृत्व, कर्मचारी लगायत यससँग सम्बन्ध राख्ने सबैले कसरी समाजको कल्याण गर्न सकिन्छ र राष्ट्र निर्माणमा योगदान दिन सकिन्छ भनेर काम गर्नुपर्ने बताए । 'समाज कल्याण परिषद् नामले पनि समाजको कल्याण गर्ने संस्था हो । यसका पदाधिकारी, कर्मचारीलगायत यस संस्थासँग आबद्ध सबैले समाजको कल्याण कसरी हुन्छ भन्ने कुरामा लाग्नुपर्छ', मन्त्री सुडीले भने, 'समाजमा पछाडि परेका वर्ग, समुदायको उत्थानका लागि काम गर्ने मौका हामीले पाएका छौँ । त्यो मौकाको सदुपयोग गरौँ । तन, मन लगाएर समाज सेवा गर्न लागौँ ।'
परिषद्का अध्यक्ष समेत रहेका मन्त्री सुडीले समाज सेवा विकासोन्मुख देशको विकासका लागि एउटा मेरुदण्ड भएको भन्दै समाजको सेवा र रूपान्तरण सभ्यताको प्रतीक भएको बताए । समाज सेवामा नागरिकहरूको आकर्षण तथा नयाँ पुस्तालाई समाज सेवाप्रति अभिप्रेरित गर्नका लागि समाज कल्याण परिषद्ले दिवस मनाउने गरेको भन्दै मन्त्री सुडीले भने, 'प्रत्येक वर्ष वार्षिकोत्सवको रूपमा मनाउँदै आएको यो दिवस सबै सामाजिक संघसंस्था एवं समाजसेवीहरूको राष्ट्रिय पर्वको रूपमा विकसित हुँदै जानुपर्छ भन्ने विश्वास लिएको छु ।'
.jpg)
सामाजिक संघसंस्थाहरू समाजप्रति उत्तरदायी र जबाफदेही हुने हुँदा हाम्रा काम कारबाही प्रस्ट र पारदर्शी बनाउने प्रयास गर्नुपर्ने उनको भनाई थियो । 'समाज कल्याण परिषद्बाट पनि अनुगमन र मूल्याङ्कनलाई अझ वैज्ञानिक र प्रभावकारी बनाइ गैरसरकारी क्षेत्रका गतिविधिहरूलाई अझै व्यापक र व्यवस्थित बनाउन थप प्रयास हुनेछ भन्ने विश्वास लिएको छु', उनले भने ।
संघसंस्थाका स्वीकृत परियोजनाले नेपाल सरकारको दिगो सामाजिक विकासका लक्ष्यलाई योगदान मापन गर्नेगरी व्यवस्थापन गर्ने नीति लिइएको भन्दै मन्त्री सुडीले भने, 'मानव विकास सूचकाङ्कमा सबैभन्दा पछाडि परेका भौगोलिक क्षेत्रलाई सबैभन्दा प्राथमिकतामा राख्ने नीति लिइएको छ । नेपाल सकारकारको प्राथमिकतामा परेका सेवाग्राहीहरूलाई सीमान्तकृत वर्ग, आदिवासी जनजाति, मधेशी, मुस्लिम, दलित लगायतका पछाडि परेकालाई परियोजनामा पहिलो प्राथमिकता लिइनेछ ।'
मन्त्री सुडीले तीनै तहको सरकारसँग समन्वय गरी परियोजनाहरूको व्यवस्थापन गर्ने भन्दै १६औँ योजनाको लक्ष्य सुशासन सामाजिक न्याय र समृद्धिको प्राप्ति हुने बताए ।
कार्यक्रमको अध्यक्षता गर्दै परिषद्का उपाध्यक्ष नन्दलाल माझीले सबैले एकजुट भएर काम गरेमा समाजका निम्ति थप योगदान दिन सकिने बताए । कतिपय अवस्थामा काम गर्दा तालमेल नमिले पनि त्यसलाई बिस्तारै सुधार गर्दै जानुपर्ने आवश्यकता औँल्याए । गैरसरकारी संस्थाहरू नभएमा परिषद्को अस्तित्व नै नहुने भन्दै उनले भविष्यमा समाजका निम्ति एकजुट भएर काम गर्न सकेमा अझ राम्रो गर्न सकिने बताए ।
.jpg)
यसैगरी त्यस अवसरमा परिषद्को वार्षिक प्रगति तथा संक्षिप्त गतिविधि प्रस्तुत गर्दै सदस्य सचिव मनोज भट्टले परिषद्मा सुशासनको अभिवृद्धि गरी संस्थागत लक्ष्य प्राप्त गर्न ऐनको समयानुकूल परिमार्जन, परिषद्को ONM सर्भे, प्रदेश सम्पर्क कार्यालयको स्थापना गर्न र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाहरूलाई राष्ट्रिय प्राथमिकता र स्थानीय आवश्यकताका आधारमा परिचालन गर्ने नीति लिइएको बताए ।
१६औँ आवधिक योजना, दिगो विकास लक्ष्य, नेपाल सरकारको चालु आ.व.को वार्षिक कार्यक्रमसँग तादाम्यता मिलाउन परिषद्ले सहजीकरण गर्ने समेत उनले बताए । गैरसरकारी संस्था परिचालनमा एकद्वार नीतिको पूर्ण परिपालनमा समस्या रहेको भन्दै सचिव भट्टले बक्यौता असुलीमा समस्या रहेको उल्लेख गरे ।
नेपालको संविधानले निर्दिष्ट गरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूलाई जिम्मेवार र जबाफदेही बनाउँदै उच्च सम्मानका साथ देशको मूल विकासमा सहभागी गराउँदै, १६औँ आवधिक योजना, दिगो विकास लक्ष्य, मानव विकास सूचकाङ्कमा पछि परेका एवं सीमान्तकृत वर्गको उत्थानका लागि परिषद्लाई जिम्मेवार र जबाफदेही बनाउँदै लैजाने नीति अनुरूप अगाडि बढिरहेको बताए ।
परिषद्का बोर्ड सदस्य नारायण गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा लोकतान्त्रिक गैरसरकारी संस्था महासंघका अध्यक्ष रमेशप्रसाद धमला, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था महासंघ (एआइएन)का अध्यक्ष एसपी (शंकरप्रसाद) कलौनीले बाह्य अनुदान जति आकर्षित गर्न सकियो त्यति नै राष्ट्रका निम्ति राम्रो हुने बताएका थिए । सुशासन प्रत्याभूत हुनेगरी काम गर्नु आजको आवश्यकता रहेको उनीहरूको भनाइ थियो । कार्यक्रमको सहजीकरण आरती लम्सालले गरेकी थिइन् ।