२० जेठ २०८३, बुधबार
3 June , 2026,Wednesday

जलवायु अभियन्ताहरूद्वारा कोप-२९ मा समान र न्यायपूर्ण जलवायु वित्तको माग गर्दै मार्च

काठमाडौँ । जलवायु अभियन्ता, नागरिक समाज, मजदुरहरू, ट्रेड युनियन प्रतिनिधिहरू, साना किसान, आदिवासी समूह र स्थानीय समुदायहरूले काठमाडौँमा जलवायु वित्तको माग गर्दै आज सडकमै उत्रिएका छन् ।
यी प्रदर्शनहरू बाकु, अजरबैजानमा जारी कोप-२९ को सन्दर्भमा गरिएको हो । यो आन्दोलनले वैश्विक उत्तर(Global North) का सरकारलाई ऐतिहासिक जलवायु ऋण चुकाउन र वैश्विक दक्षिण प्रतिको आफ्नो वित्तीय दायित्व पूरा गर्न आह्वान गरेको छ ।
काठमाडौँमा र्‍याली भृकुटीमण्डपबाट सुरु भएर रत्नपार्क स्थित शान्ति बाटिकामा गएर विसर्जन भयो । साथै, देशभरिका उल्लेखित १६ सहरहरूमा जलवायु अभियन्ता, नागरिक समाज र स्थानीय समुदाय जलवायु न्यायको माग गर्दै र्‍यालीको हिस्सा बने । आजको र्‍यालीको केन्द्रीय माग स्पष्ट छ: वैश्विक उत्तरले आफ्नो जलवायु वित्तको प्रतिबद्धता पूरा गर्नुपर्छ । औद्योगिक देशहरूको ऐतिहासिक जलवायु ऋण, जसको अनुमानित रकम प्रति वर्ष पाँच ट्रिलियन अमेरिकी डलर छ त्यो चुकाउनु पर्नेछ । यो भविष्यको लागि एक न्यायपूर्ण र दिगो मार्गको पहिलो किस्ता हो, जसले विश्व उत्तरको विगतका कार्य र निष्क्रियताले सिर्जना गरेका गम्भीर असमानताहरू र अन्यायहरू न्यूनीकरण गर्दछ ।
जलवायु सङ्कटले विश्वका सबै देशमा समान रूपको र साझा चुनौती सिर्जना गरेको छैन । ग्लोबल नर्थले आर्थिक
वृद्धिका लागि गरेका क्रियाकलापहरूले, दक्षिणका देशहरू विशेष गरी नेपालजस्ता देशहरूले दैनिक रूपमा यसको
भयानक प्रभावहरूको सामना गरिरहेका छन्, जस्तै बाढी, खडेरी, र गर्मी लहर । हाम्रा हिमश्रिखंला दिन दिनै पग्लिँदै
गएका छन् र हिमताल फुट्ने लहरो छ ।
नेपाल जस्तो देशको लागि जलवायु सङ्कटले प्रति दिन नयाँ चुनौती थपिँदै छ, जसले हाम्रो जीविकोपार्जन र जैविक विविधतालाई नै खतरा पुर्‍याउँदै छ । तसर्थ अब वैश्विक उत्तरले आफ्नो ऐतिहासिक जिम्मेवारी स्वीकार गरेर कदम चाल्नु बाहेक अन्य कुनै उपाय छैन ।
जिफन्टकी सीता लामाले नेपालमा जलवायु परिवर्तनको असरबारे प्रकाश पार्दै भनिन्, 'नेपालले बारम्बार आउने
बाढी, पहिरो र अन्य जलवायुजन्य प्रकोपका कारण घरबार, जीविकोपार्जन र सम्पूर्ण समुदायलाई ध्वस्त पारेको छ ।
जलवायु सङ्कटमा सबैभन्दा ठूलो योगदानकर्ताको रूपमा विकसित देशहरूले क्षतिपूर्ति उपलब्ध गराएर जिम्मेवारी
लिनुपर्छ र नेपालजस्ता सबैभन्दा प्रभावित देशहरूले पुन:प्राप्ति, लचिलोपन र पारगमनका लागि पर्याप्त सहयोग प्राप्त
गर्ने कुरा सुनिश्चित गर्नुपर्दछ ।'
आरआरएनका भानु पराजुलीले नेपालमा अन्तर सम्बन्धित सङ्कटमा जोड दिँदै भने, 'जलवायु परिवर्तनको प्रभावले नेपालमा खाद्य असुरक्षादेखि पानी र ऊर्जा प्रणालीमा अवरोधसम्म धेरै सङ्कटहरू निम्त्याएको छ । यी क्यास्केडिङ प्रभावहरूले समुदायहरूलाई पहिले भन्दा बढी कमजोर बनाउँदै छ । हामीलाई यी प्रणालीगत चुनौतीहरूलाई समग्र रूपमा सम्बोधन गर्न जलवायु वित्त चाहिन्छ, यो सुनिश्चित गर्दै कि समुदायहरूले यस बढ्दो जलवायु आपतकालको सामनामा लचिलोपन निर्माण गर्न र आफ्नो जीविकोपार्जन सुरक्षित गर्न सक्छन् । 
जलवायु अभियन्ता विख्यात खत्रीले भने, 'आज, हामी नेपाल जस्तो जलवायु सङ्कटबाट सबैभन्दा प्रभावित हुने देशहरूको न्यायको माग गर्दै र ग्लोबल नर्थको दोहोरो चरित्रको विरोधमा उभिएका छौँ । हामीले ग्लोबल नर्थको अपराधको सजाय भोग्दै छौँ तसर्थ ग्लोबल नर्थले आफ्नो ऐतिहासिक जिम्मेवारीलाई स्विकार्नुपर्छ र आफ्नो जलवायु वित्तको कर्तव्य पूरा गर्नुपर्छ । हामीले गम्भीर प्रभावहरूको सामना गरिरहेकाले, अब खाली आश्वासनले चित्त बुझाउने समय छैन । आफूले खाँदै नखाएको विष लागेर हाम्रो भविष्य धरापमा जाँदै छ तसर्थ औद्योगिक राष्ट्रहरूले नै जलवायु वित्त मार्फत यसको क्षतिपूर्ति गर्ने दायित्व वहन गर्नुपर्छ । हाम्रो तात्कालिक क्रियाकलापमा नै हाम्रो भविष्य निर्भर गर्दछ, र हामी हाम्रो आवाज सुनाउने र न्यायपूर्ण जलवायु वित्तको लागि हाम्रो माग पूरा नभएसम्म विश्राम गर्ने छैनौँ ।'
यो र्‍याली विश्वभरको आन्दोलनको हिस्सा हो, जसले जलवायु सङ्कटलाई उचित रूपमा समाधान गर्न सामाजिक, आर्थिक र राजनीतिक प्रणालीमा परिवर्तनको आह्वान गर्दछ । यो मार्च वैश्विक आन्दोलनको दिनको समर्थनमा आयोजित गरिएको हो, र COP-29 वार्ताहरूको बीचमा गरिएको छ, जहाँ तत्काल जलवायु क्रियाको लागतको समाधानका लागि महत्त्वपूर्ण निर्णयहरू गरिने छन् । 
थामे, सिन्धुपाल्चोक, मुस्ताङ र तराईजस्ता स्थानहरूमा, समुदायहरूले दैनिक रूपमा जलवायु परिवर्तनका प्रभावहरूको सामना गरिरहेका छन् । त्यसैले पनि यो र्‍याली र अहिले उठेका आवाजहरूले तात्कालिक समयमा विशेष अर्थ राखेको छ । आज, नेपाली नागरिक समाजले स्पष्ट पारे: हामी हाम्रो भविष्यको जोखिममा हेर्दै चुपचाप बस्न सक्दैनौँ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्