१६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, भट्टराईको विषयमा थप छलफल हुने
फाइल फोटो
काठमाडौँ । विभिन्न देशका लागि सिफारिस भएका १६ जना राजदूतहरूको नाम संसदीय समितिबाट अनुमोदन भएको छ । सिंहदरबारमा बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले सरकारले सिफारिस गरेका १७ मध्ये १६ देशका लागि नेपाली राजदूतको नाम बहुमतले अनुमोदन गरिएको समिति सभापति ईश्वरी न्यौपानेले जानकारी दिइन् ।
तर शैक्षिक योग्यताको प्रमाणपत्रमा प्रश्न उठेपछि श्रीलङ्काका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम भने अनुमोदन नगरिएको उनले बताइन् । सभापति न्यौपानेका अनुसार शैक्षिक योग्यताको प्रमाणपत्र आएपछि उनको विषयमा थप छलफल गरिने छ ।
राजदूतको नाम अनुमोदन गर्दा विभिन्न दलका समिति सदस्यहरूको फरक-फरक मत आएपछि सर्वसम्मत भने हुने सकेन । बैठकमा रास्वपा सांसद डोलप्रसाद अर्यालले इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डित, दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत कपिलमान श्रेष्ठ र मलेसियाका लागि प्रस्तावित राजदूत नेत्रप्रसाद तिम्सिनाका विषयमा र जसपा नेपालका सांसद प्रकाश अधिकारीले भारतका लागि प्रस्तावित राजदूत शङ्कर शर्माका साथै पण्डित, श्रेष्ठ र तिम्सिनामाथि फरक दर्ज गराउनुभएको सभापति न्यौपानेले जानकारी दिए ।
यस्तै बैठकले प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमान सिंह राउत र अन्य दुई देशका प्रस्तावित राजदूत उपर सार्वजनिक उजुरी आह्वान गरेको छ । संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमानसिंह राउत, अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादव र बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्साल उपर सार्वजनिक उजुरी आह्वान गर्ने गर्ने निर्णय गरिएको समिति सभापति ईश्वरीदेवी न्यौपानेले बताए ।
संविधान अनुसार सिफारिस भएकाहरूको संसदीय सुनुवाइ गर्नुपर्ने व्यवस्था छ ।