प्रधानमन्त्री र महिला भलिबल खेलाडीबीच संवादः कभर्डहल बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले महिला भलिबल खेलाडीसँग संवाद गरेका छन् । रक्षाबन्धनको दिन आज बिहानीका करिब दुई घण्टा राष्ट्रिय महिला भलिबल टिमसँग प्रधानमन्त्री ओलीले छलफल गरेका हुन् ।
प्रधानमन्त्री ओली, खेल प्रशिक्षक एवं खेलाडीबीच यस खेलले हालसम्म हासिल गरेका उपलब्धि, थप पूर्वाधार विकास र आगामी अन्तर्राष्ट्रिय खेलमा नेपालको विजय कसरी सुनिश्चित गर्ने भन्ने विषयमा छलफल केन्द्रित थियो ।
प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा भएको मुलुकको कार्यकारी प्रमुखसँग सम्भवतः पहिलो पटक यस प्रकारको भलाकुसारी गर्ने अवसरले आफूहरूलाई उत्साहित तुल्याएको खेल नेतृत्वकर्ता, प्रशिक्षक र खेलाडीहरूले बताएका थिए । प्रधानमन्त्री ओलीसँगको छलफलमा सो टिमका मुख्य प्रशिक्षक जगदीश भट्ट, कप्तान अरुणा शाही, नेपाल भलिबल सङ्घका अध्यक्ष जितेन्द्र चन्द, खेलाडी सरस्वती चौधरीलगायत सहभागी थिए ।
प्रधानमन्त्री ओलीले दुई साता अघि सम्पन्न 'काभा वुमन्स नेसन्स भलिबल प्रतियोगिता' हेर्न आफूले चाहे पनि मन्त्रिपरिषद्को आकस्मिक बैठकका कारण जान नसकेको अवगत गराउँदै खेलाडीका प्रगति, चाहना र मागबारे आफू जानकार रहेको सुनाएका थिए ।
प्रधानमन्त्री ओलीले प्रतियोगिताका उपविजेता खेलाडीलाई नेपाल सरकारले जनही तीन लाख रुपैयाँ दिने निर्णय गरेको जानकारी गराएका थिए भने खेलाडीले त्यसका लागि आभार व्यक्त गरेका थिए ।
उनले यस क्षेत्रको मागअनुसार अन्तर्राष्ट्रियस्तरको कभर्ड हल बनाउने सङ्कल्प गरे । 'तपाईँहरूलाई थाहा छ कि सरकारको ढुकुटीमा धेरै रकम छैन तर हामी गर्नैपर्ने कामहरू गर्नेछौँ । आगामी खेलमा जित्छौँ जुन तपाईँहरूको मनोबल छ, त्यो साकार होस्', प्रधानमन्त्री ओलीले भने, 'हामीले खेल खेल्ने भनेकै जित्नका लागि हो, त्यसकारण राम्रो ध्यान दिएर जित्छु भन्ने आशा बोकेर लाग्नुस् । सफलता पक्कै मिल्नेछ ।'
प्रधानमन्त्री ओलीले गत महिना नेपालमा रहेका रसियाली महिला भलिबल खेलाडीले आफूसँगको भेटमा नेपाली टिमको प्रशंसा गरेको स्मरण गर्दै विश्वस्तरका खेलाडीबाट भएको प्रशंसाभित्र नेपाली टिमको सम्भावना लुकेको बताए ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?