१४ चैत २०८२, शनिबार
28 March , 2026,Saturday

मुलुक समृद्धिको खाका पर्यटन मन्त्रालयबाट सुरु हुन्छ: मन्त्री पौडेल

काठमाडौँ। नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले मुलुक समृद्धिको खाका मन्त्रालयबाट सुरु हुने बताएका छन्। 

सिंहदरबारस्थित मन्त्रालय पुगेर पदबहाली गर्दै उनले यस्तो बताएका हुन्। उनले भने, 'पर्यटन मन्त्रालय मेरो रुचिको तर चुनौतीपूर्ण मन्त्रालय हो । म आफैँ लेखक र पदयात्री (ट्रेकर) भएकाले यस क्षेत्रका समस्यासँग परिचित छु । अब हामीले जनहितलाई केन्द्रमा राखेर मुलुकको समृद्धिका क्षेत्रमा गति बढाउनुपर्छ।'

मूर्त र अमूर्त संस्कृतिको संरक्षण गर्दै नेपाललाई गन्तव्यमा आधारित (डेस्टिनेसन बेस) पर्यटकीय क्षेत्रका रूपमा विकास गर्दै पर्यटन प्रवर्द्धन गर्ने योजना उनले अघि सारे। साथै, हरेक धर्मसँग जोडिएका पदमार्गको विकास गर्ने योजना आफूसँग रहेको उनले जानकारी दिए।

मन्त्री पौडेलले आगामी पाँच वर्ष देशका लागि सहकार्य र समन्वयमार्फत काम गर्न कर्मचारीलाई आग्रह गरे। 'म कुनै प्रलोभनमा पर्ने छैन, सबै निर्णय सामूहिक र एकताबद्ध हुनेछन्', उनले भने, 'कामको मूल्यांकन योग्यता (मेरिटोक्रेसी)का आधारमा हुनेछ । हामीले कर्मचारीजस्तो मात्र भएर होइन, देश निर्माणको अभियन्ता बनेर काम गर्नुपर्छ।'

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्