१० दिनपछि त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवितै उद्धार
तस्बिरः नेपाली सेना
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको १० दिनपछि जीवितै उद्धार गरिएको छ।
भदौ १० गते बाढी आएपछि सुरुङभित्र फसेका सञ्जय साह र कविर महर्जनलाई शुक्रबार बिहान उद्धार टोलीले सकुशल बाहिर निकालेको हो। आयोजना प्रमुख आवास ओझाका अनुसार कविर महर्जन त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाका सुपरभाइजर हुन्। यस्तै, सञ्जय साह नेपाल विद्युत् प्राधिकरणका चौथो तहका कर्मचारी हुन्।
आयोजनामा मर्मतसम्भारको काम भइरहेका बेला साह पनि सोही कामका लागि सुरुङ क्षेत्रमा पुगेको बताइएको छ। बाढीपछि सुरुङभित्र फसेका उनीहरूको खोजी तथा उद्धारका लागि नेपाली सेना र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको थियो। लामो समयको खोजीपछि दुवै जनालाई जीवितै बाहिर निकाल्न उद्धार टोली सफल भएको हो।
यसैबीच उद्धार गरिएका साहले सुरुङभित्र धेरैजना रहेको र सबैजना सकुशल रहेको जानकारी दिएका छन्।