रास्वपा समानुपातिक सूचीमा रहेकी डा.त्रिशला गुरुङले लिइन् नाम फिर्ता
फाइल फोटो
काठमाडौँ । उज्यालो नेपाल पार्टीमा रहेर रास्वपाको समानुपातिक तर्फ बन्दसूचीमा रहेकी डा. त्रिशला गुरुङले सूचीबाट नाम फिर्ता लिएको घोषणा गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएकी हुन् ।
'उज्यालो नेपाल पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी)बाट समानुपातिक प्रतिनिधित्वका लागि उम्मेदवारका रूपमा सिफारिस गरिनु मेरो लागि ठूलो सम्मान र जिम्मेवारीको विषय हो। यस अवसरका लागि पार्टी नेतृत्व, सम्बन्धित निकाय तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति म हार्दिक आभार व्यक्त गर्दछु। यद्यपि, गहन आत्ममूल्यांकन पश्चात मैले उक्त उम्मेदवारीबाट पछि हट्ने निर्णय लिएको जानकारी गराउन चाहन्छु', उनले भनेकी छन्, 'यस निर्णयको मूल कारण भनेको मेरो पेशागत जिम्मेवारीप्रति पूर्ण समर्पण गर्दै कला र स्वास्थ्य क्षेत्रमा निरन्तर रूपमा सेवा प्रदान गर्नु तथा नागरिक समाज र समुदायप्रति स्वतन्त्र हैसियतबाट योगदान पुर्याउने मेरो दृढ संकल्प हो।'
उनले पार्टी नेतृत्वप्रति आभार व्यक्त गर्दै पदमा नरहँदा पनि समाज, स्वास्थ्य क्षेत्र र समुदायको आवाजका रूपमा योगदान दिने प्रतिबद्धता व्यक्त गरेकी छिन् । 'म माथि पार्टीले देखाएको विश्वास, सम्मान र समर्थनलाई सदैव उच्च मूल्यांकन गर्नेछु र उक्त भरोसालाई कहिल्यै कमजोर हुन नदिने प्रतिबद्धता व्यक्त गर्दछु। राजनीतिक पदमा नरहँदा पनि समाज, स्वास्थ्य क्षेत्र र समुदायको आवाजका रूपमा आफ्नो क्षमता र विवेकअनुसार निरन्तर योगदान पुर्याइरहनेछु। अन्त्यमा, पार्टीको भावी यात्राका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु', उनले भनेकी छिन् ।
हेर्नूहोस् डा.त्रिशालाको भनाइः